
काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमा प्रसाद चतुर्वेदीले मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
तत्कालिन मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी लालमणि आचार्य प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि उनको ठाउँमा चतुर्वेदीलाई जिम्मेवारी दिइएको हो ।
डिआईजी चतुर्वेदीले जनकपुर पुगेर आजदेखि नै प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन् । उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।
पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक चतुर्वेदीले मधेस प्रदेशको वस्तुस्थिति, जनशक्तिको बारेमा जानकारी लिएका थिए ।
त्यसपश्चात उनले प्रदेश कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडित मैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार गर्न निर्देशन दिए ।
मधेस प्रदेश अति संवेदनशिल प्रदेश हो । त्यसैले प्रहरीभित्र अब्बल कमाण्ड क्षमता भएका चतुर्वेदीलाई गृहमन्त्री रमेश लेखक र संगठन प्रमुख दिपक थापाले मधेस प्रदेशको जिम्मेवारी दिएर पठाएका हुन् ।