
जय यादब
वीरगञ्ज । वीरगञ्जमा महिला क्रिकेट तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता शनिवारबाट सुरु हुने भएको छ । प्रतियोगिता प्याब्सन वीरगञ्ज महानगर समितिको आयोजनामा ज्ञानदा एकेडेमीको मैदानमा हुनेछ ।
प्रतियोगिता सम्बन्धी जानकारी दिन बिहीबार भिस्वा होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक प्याब्सन वीरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवले प्रतियोगितामा छात्रातर्फ २१ विद्यालय र छात्रतर्फ २० विद्यालयले सहभागिता जनाउने जानकारी दिए ।
नेपाल विद्यालय खेलकुद महासंघ सँगको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा पहिलो पटक टेनिस बलको प्रयोग गरिनेछ । नकआउट आधारमा हुने खेलमा प्रत्येक टोलीमा ११ जना खेलाडी रहनेछन् भने फिल्डिङ गर्ने क्रममा ९ जना मात्र मैदानमा रहनेछन् । प्रतियोगिता संयोजक तथा वीरगञ्ज महानगर समितिका सचिव अमित आलोकका अनुसार एक दिनमा चार वटा खेल हुनेछन् ।
प्रतियोगिताका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम रहनेछन् ।
आजको पत्रकार सम्मेलनमा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरण प्रधान, नेपाल विद्यालय खेलकुद महासंघ पर्साका अध्यक्ष एवं प्याब्सन वीरगञ्जका निवर्तमान अध्यक्ष आलोक चौरसिया, प्याब्सनका सुमन दास, जेपी चौरसिया, हरिश्याम ठाकुर, रामकिशोर यादव, आभाष क्षेत्री लगायत विभिन्न विद्यालयका प्रिन्सिपलहरूको समेत उपस्थिति रहेको थियो ।