२०८१/०५/२८ शुक्रवार
नारायणी अस्पताल, वीरगञ्जका निमित्त मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. एनामुल हक वीरगञ्जकै अर्को निजी अस्पताल नारायणी सेन्ट्रल हस्पिटल प्रा.लि.मा पनि म्यानेजर रहेको पाइएको छ ।
मधेश प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पतालको प्रमुख नै निजी अस्पतालको कार्यकारी पदमा रहनु स्वार्थ बाँझिने जिम्मेवारी भएको कर्मचारीहरु बताउँछन् । नेपाल सरकारका १० औं तहका चिकित्सकसमेत रहेका डा. हकले निजी नारायणी सेन्ट्रल अस्पतालमा जिम्मेवारी लिएको पुष्टि भएको छ । यो अस्पताल सरकारी नारायणी अस्पतालबाट मात्र ५० मिटरको दूरीमा रहेको छ। सरकारी अस्पतालको कार्यकारी प्रमुख रहेका डा. हक निजी अस्पतालको पनि म्यानेजर रहेको प्रमाण सार्वजनिक भएको हो ।
अस्पताल सञ्चालक र डा. हकको मिलेमत्तोमा बोर्डमा भने अस्पतालको निर्देशकमा डा. पवन पटेलको नाम उल्लेख गरिएको छ । तर, गोप्य लिखित दस्तावेजहरुमा भने डा. हकलाई नै अस्पतालको सबै जिम्मेवारी हेर्ने तोकिएको छ
डा. हक सरकारी नारायणीको मेसु हुनु अगावैदेखि सो अस्पतालमा कन्सल्ट्यान्टको बोर्ड झुण्ड्याएर काम गर्दै आएका थिए । तर, वीरगञ्जकै नेता प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर आएपछि उनलाई सरकारी नारायणी अस्पतालको मेसु बनाइएको थियो । उनलाई ९ जेठमा मन्त्री यादवले निमित्त मेसु बनाएर ४ सय ५० शैय्याको केन्द्रीय अस्पतालको कमाण्ड सुम्पिेका थिए ।
१ साउनमा नारायणी सेन्ट्रल हस्पिटल प्रा.लि.को पनि कार्यकारी पद म्यानेजरको जिम्मेवारी लिएका डा. हकलाई अस्पताल सञ्चालकद्वय सुमन केयल र सुरेश केयलले ११ जना चिकित्सक (हेड अफ डिपार्टमेन्ट)लाई साक्षी राखेर लिखित माइन्युट नै गरेर जिम्मेवारी दिएका थिए । माइन्युटमा ‘अस्पतालको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी डा. एनामुल हकको हुनेछ,’ भनी उल्लेख छ। साथै, डा. हक पूर्णकालीन चिकित्सकहरु पनि ल्याउने बताइएको छ ।
अर्को निर्णयमा आमा सुरक्षा कार्यक्रम सञ्चालन नगर्ने र निवर्तमान निर्देशक डा. प्रमोदकुमार सर्राफले दिएको राजीनामा स्वीकृत गर्ने उल्लेख गरिएको छ ।
तर, यता डा. हकले संघीय सरकारी अस्पताल नारायणीमा मेसु भएर नारायणी सेन्ट्रल अस्पतालको व्यवस्थापनको जिम्मा लिन नमिल्ने भन्दै आफू त्यहाँ क्लिनिक मात्र हेर्ने गरेको दाबी गरे । ‘हामी त्यहाँ क्लिनिक हेर्छौं,’ उनले भने, ‘अन्य त्यस्तो छैन।’ डा. हकलाई पुनः १ साउनको निर्णय स्मरण गराउँदा उनले त्यस्तो नभएको जिकिर गरेका छन् ।
डा. हक मेसु भएर आएसँगै ४ सय ५० शैय्या सञ्चालनमा रहेको सरकारी नारायणी अस्पताल अस्तव्यस्त भएको आरोप लागेकाे छ । मेसु नियुक्त भएको ११ दिनमा नै उनले चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी ४६ जना कर्मचारी विकास समितिसँगको सल्लाह बिना नै निकालेका थिए। त्यसको १ महिना ९ दिनपछि नै उनले नारायणी सेन्ट्रल अस्पतालको व्यवस्थापनको पनि जिम्मेवारी लिएका हुन् ।
कर्मचारी निकाल्नुको कारण सरकारी नारायणी अस्पताललाई अस्तव्यस्त पारेर निजी अस्पताल नारायणी सेन्ट्रलमा बिरामी पठाउनु रहेको आरोप अस्पतालमा कार्यरत कर्मचारीहरु लगाउँछन् ।
(साभार – birgunjcity)