काठमाडाैं | साउन ९, २०८१
इन्जिनको पूर्ण मर्मतका लागि पोखरा जाने क्रममा सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
बुधबार बिहान दुर्घटनामा परेको ९एन एएमई कलसाइनको जहाज २२ वर्ष पहिला क्यानडामा बनेको थियो । यसको इन्जिनको उडान घण्टा सकिएपछि पूर्ण मर्मतका लागि पोखरा जाने क्रममा दुर्घटनामा परेको हो ।
जहाजलाई पाइलट मनीषरत्न शाक्य र सुशान्त कटुवालले उडाएका थिए । शाक्यको जिवितै उद्धार गरिएको छ ।
दुर्घटना भएको जहाजलाई क्यानडाको बम्बार्डियर सीआरजे कम्पनीले बनाएको हो । सन् २००२ मा बनेको उक्त जहाजलाई सौर्य एयरलाइन्सले १४ मार्च २०१७ मा नेपाल ल्याएको हो ।
बुधवार दुर्घटनामा परेको जहाजले ५० यात्रु बोक्न सक्ने क्षमता राख्थ्यो भने अधिकतम उडान भार ५ हजार ९ सय ४२ केजी थियो ।
कम्पनीले एटीआरजस्ता अन्य जहाज भन्दा धेरै सुरक्षित रहेको दाबी गरेको उक्त जहाज ८६० किलोमिटर प्रतिघण्टा सम्म उड्न सक्थ्यो ।
सौर्य एयरलाइन्ससँग यही मोडेलका दुई वटा जहाज थिए ।
दुर्घटनासँगै अब एयरलाइन्ससँग उस्तै प्रकारको एउटा जहाज बचेको छ ।
जहाजहरू बारे जानकारी दिने प्लेनस्पटर्स डट नेटका अनुसार निर्माणपछि उक्त जहाज अमेरिकाको एट्लान्टिक कोस्ट एअरलाइन्सले सञ्चालन गरेको थियो ।
त्यसपछि अमेरिकाकै अमेरिकाकै इन्डिपेन्डेन्स एअरलाइन्सलाई उक्त जहाज बेचियो । अनि त्यसको तीन वर्षपछि यो जहाजले नाइजेरियाको एरिक एअरलाइन्समार्फत उडान गरेको थियो ।
२००८ देखि २०१६ सम्म दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्स्प्रेस एअरवेजमा उडान गरेको उक्त जहाजलाई २०१७ मा सौर्य एयरलाइन्सले नेपाल भित्र्याएको थियो ।