काठमाडाैं | जेठ १८, २०८१
कान्तिपुर सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सीबी लामा भन्ने चन्दबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
सहकारी ठगी मुद्दामा लामासहितको समूहले ८ अर्ब बढी ठगी गरेको आरोप छ । तर लामा एक्लैले निक्षेपकर्ताको एक अर्बभन्दा बढी रकम अपचलन गरेको अनुसन्धानबाट खुलेको छ ।
सरकारले गत फागुन २७ गते लामासहित कान्तिपुर सहकारीका ११ सञ्चालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो । मुद्दा दर्ता गर्नु अघि नै लामालगायतका समूह फरार थिए ।
प्रहरी वृत्त बानेश्वरको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालबाट दायर भएको ठगी मुद्दामा कान्तिपुर सहकारीले ८५२ जना निक्षेपकर्ताबाट मात्रै १ अर्ब ५१ करोड रूपैयाँभन्दा बढी ठगी गरेको पाइएको हो ।
ठगी मुद्दामा सहकारीका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, कोषाध्यक्ष प्रेमध्वज लामा, सचिव जोगलाल लामा, सदस्यहरू सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा, देवराज पराजुली, लेखा सुपरीवेक्षण समितिको संयोजक कञ्चन तामाङ, लेखा सुपरीवेक्षण समितिका सदस्य उद्धवप्रसाद पाण्डे, लेखा सुपरीवेक्षण समितिका सदस्य अम्बिका थपलिया र पूर्वअध्यक्ष एवं व्यवस्थापक सीबी लामा भन्ने चन्द्रबहादुर तामाङलाई विपक्षी बनाइएको थियो ।
मुद्दा दायर भएकामध्ये तत्कालीन अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी मात्रै पक्राउ परेका थिए ।
कान्तिपुर सेभिङले आकर्षक ब्याज दिन्छु भन्दै निक्षेपकर्तालाई फिक्स्ड डिपोजिटमा रकम राख्न लगाई डिपोजिटको रकम फिर्ता नगरी अन्यत्र घर जग्गा, रिसोर्ट, होटल, रेष्टुरेन्ट, अस्पताललगायतमा लगानी गरेको पाइएको छ । लामो समयदेखि अध्यक्ष रहेका सीबी लामाले नै लगानी गर्न मुख्य भूमिका खेलेको देखिन्छ ।
प्रहरी प्रतिवेदन अनुसार चक्रलाल श्रेष्ठसमेतका ८५२ जना जाहेरीकर्ता तथा उनीहरूको आफन्तको निक्षेप रकम मात्रै १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ १९ पैसा रकम ठगी भएको र फिर्ता नपाएको दाबी गरिएको थियो । त्यस्तै अन्य बचतकर्ताहरूको रकमसमेत गरी करिब ६ अर्ब रुपैयाँ कान्तिपुर सेभिङले तिर्न बाँकी रहेको छ ।
निक्षेपकर्ताको रकम अपचलन गरेको कसुरमा पक्राउ परेका कान्तिपुर सहकारीका तत्कालीन ठकुरीले पूर्व अध्यक्ष लामा एक्लैले निक्षेपकर्ताको १ अर्बभन्दा बढी रकम अपचलन गरेको र उक्त रकमको सावाँ तथा ब्याजसमेत नतिरेको बयान उतिखेरै प्रहरीमा दिएका थिए ।
कान्तिपुर सेभिङले निक्षेपकर्ताको रकमबाट सहकारीको नाममा मात्रै नभएर सहकारीका सञ्चालक, उनीहरूका आफन्त र कर्मचारीको नाममा समेत घर तथा जग्गा जोडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
२०५५ सालमा लामाले पशुपति बचत तथा ऋण सहकारी संस्था खोलेर श्रीमतीलाई अध्यक्ष बनाएका थिए भने आफू कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष बनेका थिए । तर सहकारी ऐन, २०७४ आएपछि एकै परिवारका व्यक्ति दुई वटा सहकारीमा अध्यक्ष हुन नपाउने व्यवस्था गरेपछि लामाले कान्तिपुर सहकारी छाडेर पशुपतिमा अध्यक्ष बनेका थिए । त्यहाँबाट पनि लामाले रकम अपचलन गरेको बुझिन्छ ।
प्रहरीले मुद्दा दर्ता गर्दा पीडकहरुविरुद्ध ७ वर्षसम्मको कैद सजायको मागदाबी लिएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले लामालाई चितवनबाट नियन्त्रणमा लिएको बताए । उनले भने, ‘लामा सकभर काठमाडौं नआउने र तराईकै जिल्लामा बस्दै आएको सूचना थियो, लोकेट गर्दै जाँदा चितवनमा देखिएपछि नियन्त्रणमा लिएको हो ।’
अनुसन्धान कार्यालयले लामालाई बानेश्वर वृत्तमा बुझाउने भट्टराईले जानकारी दिए । शुरूमा दुई अर्बको हाराहारीमा ठगी गरेको उजुरी प्रहरीमा परेको थियो । पछि उजुरी कर्ताहरू बढेको प्रहरीले जनाएको छ ।