एमाले, माओवादी, रास्वपा र जसपाबीच गठबन्धनसहित नया सरकार बनाउने सहमति

काठमाडौ| फागुन २१, २०८०

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)सहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दलहरूको बैठकमा नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो

स्रोतका अनुसार नयाँ गठबन्धन सम्भवत: आजै घोषणा हुने सम्भावना छ । राजनीतिमा कुनै नाटकीय परिवर्तन नभए आजै पूरानो सत्ता गठबन्धन भत्किएर एमाले-माओवादी र रास्वपासहितको नयाँ गठबन्धन बन्ने स्रोतले ठोकुवा गर्‍यो ।

दलहरूबीच हाल प्रधानमन्त्री प्रचण्ड नै रहने सहमतिसमेत भएको छ ।

बैठकमा माओवादीको तर्फबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष विष्णु पौडेल र महासिचव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

यसअघि आजै बिहान टीआरसी विधेयक टुंग्याउने सम्भावना छ । लगत्तै प्रधानमन्त्री प्रचण्डले अहिलेको गठबन्धनधारी दलहरूलाई बोलाएर नयाँ परिस्थिबारे जानकारी गराउने उच्च स्रोतले जानकारी दियो ।

आइतबार एमाले अध्यक्ष ओलीले प्रचण्डसँग दुई पटक भेटवार्ता गरेका थिए । बालुवाटारमा बिहान एक्लै भेटवार्ता गरेका ओलीले साँझ महासचिव पोखरेलसहित प्रचण्डसँग छलफल गरेका थिए ।

ओली प्रचण्ड छलफललगत्तै एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी उपमहासचिव पुन र रास्वपा सभापति लामिछानेबीच छलफल भएको थियो ।

आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गरेका थिए । देउवाले मन्त्रीबाट फिर्ता आउनु पर्ने र पार्टीले नै सरकार छाड्ने सम्मको परिस्थिति आउनेतर्फ मन्त्रीलाई ब्रिफिङ गरेको कांग्रेसका एक मन्त्रीले बताए ।

सरकार सञ्चालन गर्न सत्ताको प्रमुख घटक कांग्रेसले प्रयाप्त सहयोग नगरेको भन्दै प्रधानमन्त्री प्रचण्ड लामो समयदेखि असन्तुष्ट थिए । सरकारको काम कारबाही चुस्त बनाउन र जन आकांक्षाअनुसार अघि बढाएका कामलाई कांग्रेसले सहयोग नगरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाउँदै आएका थिए ।

कांग्रेसले कार्यसम्पादन राम्रो नभएका मन्त्री हटाउन नमानेकोमा पनि प्रधानमन्त्रीको असन्तुष्टि थियो । यस्तै, सरकारले शुरू गरेको सुशासन अभियानमा सहयोग गर्नुको साटो भाँड्न खोजेकोमा पनि उनले कांग्रेसँग असन्तुष्टि जनाएका थिए ।

गठबन्धन कायम छँदै पार्टी बैठकमा आगामी चुनावमा गठबन्धनमा नगर्ने भनेर बखेडा झिकेको प्रचण्डको आरोप छ । यस्तै, ‘जनयुद्ध’ लाई बद्नाम हुनेगरी कांग्रेसले आन्तरिक बैठकमा दस्तावेज पेश गरेकोलगायत असन्तुष्टिका विषय हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओलीसँगको वार्ता धेरै अगाडि बढिसकेपछि कांग्रेस झस्केर आउन खोजेको छ । तर, अहिले धेरै ढिलो भइसकेको जवाफ प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको स्रोतको दाबी छ । ​कांग्रेसँग असन्तुष्ट प्रधानमन्त्री प्रचण्ड पछिल्लो केही समयदेखि एमालेसँग निरन्तर सम्वादमा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय