बिरगंज ,२ जेठ ।
बिल बिजक भन्दा बढी हार्डवेयर, मोबिल तथा बिभिन्न किसिमका खुद्रा सामानहरु लोड रहेको कन्टेनर र ट्रक वडा प्रहरी कार्यालय विर्ताले नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिल विजक भन्दा बढी विभिन्न किसिमका मोबिल लगायतका खुद्रा सामनहरु बोकेको माल बाहक कन्टेनर वीरगञ्जबाट नारायणघाट तर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक बिदुर सिवाकोटीको कमान्डमा खटिएको प्रहरी टोलीले जेठ १ मा राती १०:४५ को समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ बोखार चोक स्थित सडकखण्डबाट ना.३ ख ७७४१ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा सो मालवाहक ट्रकलाई नियन्त्रणमा लिईएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।
उक्त ट्रक र सो भित्र लोड रहेको मोबिल तथा विभिन्न किसिमका खुद्रा समानहरुको मुल्य रू.६३,००,०००।-( त्रिसट्ठी लाख ) बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ।
त्यस्तै , बिल विजक भन्दा बढी विभिन्न किसिमका हार्डवेयर लगायतका खुद्रा सामानहरु बोकेको कन्टेनर वीरगञ्जबाट लाहान तर्फ जाँदै गरेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताको प्रमुख प्रहरी निरीक्षक बिदुर सिवाकोटीको कमान्डमा खटिएको प्रहरी टोलीले आज बेलुकी ४:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ४ रेल्वेरोड स्थित सडकखण्डबाट ना.३ ख ६९९ नम्बरको मालवाहक कन्टेनर ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिई रू.५८,००,०००।-( अन्ठाउन्न लाख ) बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता दिपक गिरिले जनाएका छन् ।