कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिरहेका छन् । कृषि सहकारीमा मल नपाएपछि उनी मलको जोहो गर्न भारतीय बजार तिकुनीया जाने तयारीमा छन् । भारतको तिकुनीयाबाट मल ल्याउन पनि किसानलाई सहज छैन । सहजै मल ल्याउन सकिने भएको भए यहाँका किसान ढुक्कले खेती गर्ने थिए ।
“मल नेपाली बजारमा सहजरुपमा पाउँदैन, भारतीय बजारबाट ल्याउन पाइँदैन”, चौधरीले भने, “यस्तो बेलामा कसरी खेती गर्नु ? मल नभए धान उत्पादन घट्छ ।”
कैलालीमा यस वर्ष रासायनिक मलको चरम अभाव हुने देखिएको छ । हरेक वर्ष किसानले मलको समस्या झेल्दै आएको र यस वर्ष पनि अभाव हुनसक्ने देखिएको हो । कैलालीमा रासायनिक मलको आपूर्ति पर्याप्त नहुँदा यस वर्ष मल अभाव हुने भएको हो ।
सरकारले अन्तर्राष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्ट टे«डिङ कम्पनीले जिटुजीअन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गरी किसानलाई पूर्ति गर्दै आएको छ । तर यस वर्ष समयमा मल पर्याप्त मात्रामा आपूर्ति नहुँदा धानखेती गर्ने बेला मलको अभाव देखिने कृषि सामग्री कम्पनीका मौज्दात शाखा प्रमुख रुपबहादुर कुँवरले बताए ।
“यस वर्ष धान रोप्ने समयमा मल अभाव हुने देखिन्छ”, उनले भने, “सुदूरपश्चिम प्रदेशका लागि भैरहवा नाकामा दुई हजार १०० मेट्रिक टन डिएपी मल आइपुगेको छ ।” कुँवरले मल नाकामा आए पनि इन्धनको मूल्य अधिक बढेर ढुवानीमा समस्या हुँदा आएको मल प्रदेशमा भित्र्याउन नपाएको बताए । मल ल्याउनका लागि प्रदेशमा रहेका कृषि सहकारीलाई प्रधान कार्यालय र प्रदेशको स्वीकृति लिएर भैरहवाबाटै मल ल्याउन दिने व्यवस्था गर्न थालिएको उनले बताए ।रासस